२०८३, आश्विन १९ गते

images

फोहरलाई मोहरमा रुपान्तरण गर्दै व्यास नगरः व्यवस्थापनमा यसअघि लाखौँ खर्च, अब मासिक १ लाख आम्दानी

फोहरलाई मोहरमा रुपान्तरण गर्दै व्यास नगरः व्यवस्थापनमा यसअघि लाखौँ खर्च, अब मासिक १ लाख आम्दानी

शनिवार, श्रावण १२ २०८१०६:५५
शनिवार, श्रावण १२ २०८१०६:५५
  • images

    काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

    वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिए । 

    ‘यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियौँ । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको छ’, उनले भने । ‘यसरी सङ्कलित फोहरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौँ । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मेसिन खरिदको काम भइरहेको छ ।’

    नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यहाँ पूर्वनिर्धारित स्थलमा फोहर विसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि यही साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहर सङ्कलनमा समस्या भइरहेको छ । कुहिने फोहर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ । 

    प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको जानकारी दिए । यसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताए । 

    नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहर व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताए । ‘हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौँ । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ’, उनले भने, सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend