२०८३, आश्विन १९ गते

images

आगामी वर्षको बजेट देशमा रहेका समस्याको हल हुनेगरी ल्याउँछौँः विष्णु पौडेल

आगामी वर्षको बजेट देशमा रहेका समस्याको हल हुनेगरी ल्याउँछौँः विष्णु पौडेल

आइतवार, बैशाख ७ २०८२१०:३७
आइतवार, बैशाख ७ २०८२१०:३७
  • images

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आव ०८२/८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताएका छन्।

    आइतवार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।  सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उनको जिकिर छ। 

    सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रबन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए। 

    उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको दावीसमेत गरे। उनले अस्थिरतावादी प्रवृत्तिहरु स्थिरताविरुद्ध क्रियाकलाप गरिरहेको उल्लेख गर्दै सफल हुन नदिइने बताए। 

    ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ। अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलाफ विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन्‚’ उनले भने, ‘अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सक्रिय छन्। यदाकदा त्यसमा लोकप्रियतावादी पनि मिसिन पुग्छ। यो खालको प्रवृत्तिले मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ।’

    उनले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताए। उनले जनता र सरकारबीचको सम्बन्ध अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वाससमेत दिलाए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend