२०८३, आश्विन १९ गते

images

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

बिहिवार, आषाढ ६ २०८१०४:४७
बिहिवार, आषाढ ६ २०८१०४:४७
  • images

    काठमाडौँ । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । 

    श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरुलाई स्वागत गरेका थिए । 

    अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनले जानकारी दिए । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा रु चार हजार सात सयभन्दा माथि छ । 

    यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने मित्तलले जानकारी दिए । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनको छ । 

    जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुआतदेखि निरन्तर लागिरहनुभएका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिए ।

    पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताए । उनले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताए ।

    महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिईन । उनले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताए । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ थियो । 

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताए । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उनले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend