काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई १०१ बुँदे सुझाव पेश गरेको छ । सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पत्र बुझाउँदै समृद्धिका आधार क्षेत्र–कृषि, पर्यटन, ऊर्जा, रोजगारी सिर्जना तथा औद्योगिक लगानीलाई बजेटको पहिलो प्राथमिकतामा राख्न माग गरे ।
अध्यक्ष अग्रवालले समयमै पुँजीगत खर्चका लागि स्पष्ट कार्ययोजना र त्रैमासिक समीक्षा अनिवार्य गर्नुपर्ने बताए । चेम्बरले राजस्व वृद्धि, नीतिगत स्थायित्व, र प्रतिवद्ध वैदेशिक सहयोगको यथार्थ मूल्यांकनका आधारमा बजेट तयार पार्नुपर्नेमा जोड दिएको छ ।
त्यस्तै, चेम्बरले खनिजजन्य रत्न–पत्थर, जडीबुटी तथा वनजन्य उद्योग प्रवद्र्धन गरी निर्यातमुखी उत्पादन बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय अन्तर्गत ल्याई भन्सार तथा आन्तरिक राजस्व विभागसँग समन्वयमा काम गराउन सुझाव दिएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्तिको सीप र अनुभव स्वदेशमै उपयोग हुने वातावरण बनाउँदै घरेलु लगानी प्रोत्साहन गर्नुपर्ने सुझाव पनि चेम्बरले अर्थमन्त्रीलाई दिएको छ ।

