काठमाडौं । छ वटा महानगरपालिकामध्ये पोखरा महानगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी बेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखापरीक्षणमा ५० करोड ४३ लाख (३.७४%) बेरुजु फेला परेको हो। यो तथ्याङ्कले पोखरालाई महानगरहरूमा आर्थिक अनुशासनको हिसाबले सबैभन्दा कमजोर देखाएको छ।
महानगरहरूको बेरुजु तुलनामा विराटनगर महानगरपालिका सबैभन्दा उत्कृष्ट देखिएको छ। विराटनगरको ६ अर्ब ४४ करोड ७६ लाखको लेखापरीक्षणमा जम्मा २ करोड ८ लाख ५७ हजार (०.३२%) बेरुजु देखिएको छ। दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ, जहाँ १० अर्ब ६८ करोड ९७ लाखको लेखापरीक्षणमा ५ करोड ५५ लाख (०.५२%) बेरुजु छ। भरतपुर महानगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ, जहाँ ११ अर्ब १३ करोड ३ लाखको लेखापरीक्षणमा १० करोड २ लाख (०.९०%) बेरुजु छ।
देशकै सबैभन्दा ठूलो बजेट सञ्चालन गर्ने काठमाडौं महानगरपालिका चौथो स्थानमा छ। काठमाडौँको २७ अर्ब ५२ करोड ४४ लाखको लेखापरीक्षणमा ६८ करोड २ लाख (२.४७%) बेरुजु देखिएको छ। यस्तै, वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाखको लेखापरीक्षणमा २२ करोड ७५ लाख (३.६२%) बेरुजु फेला परेको छ।
पोखराको उच्च बेरुजुले आर्थिक व्यवस्थापन र पारदर्शितामा सुधारको आवश्यकता औँल्याएको छ । महालेखाको प्रतिवेदनले स्थानीय तहहरूमा नीति पालना र जबाफदेहितालाई थप बलियो बनाउनुपर्ने सुझाव दिएको छ ।
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले भने शून्य बेरुजुको कीर्तिमान कायम राख्दै आर्थिक अनुशासनको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

