काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारे ।
विगतका वर्षहरुमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आएपनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको उनले दाबी गरे । समस्या आइसकेपछि कराउने नभइ समयमै सुधार्नुपर्ने उनको भनाइ छ ।
समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागिपरेको उनको भनाइ थियो । प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।

