काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। चार वर्षे पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि कम्पनीले उनको कार्यसम्पादनको समीक्षा गर्दै पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो।
खत्रीले २०७८ साल जेठ ३ गतेदेखि पहिलो कार्यकाल सम्हालेका थिए। उनको नेतृत्वमा कम्पनीले जीवन बीमा कोषको आकार ४९ अर्ब चार करोड रुपैयाँबाट ८१ अर्ब ३२ करोड रुपैयाँसम्म पुर्याउन सफल भएको छ। त्यस्तै, कूल बीमा व्यवसायको आकार बार्षिक १२ अर्बबाट १७ अर्बभन्दा माथि पुर्याउन सफल भएका छन्। हाल नेशनल लाइफ जीवन बीमा कोषको आधारमा नेपालकै तेस्रो ठूलो कम्पनी बनेको छ भने कूल बीमा व्यवसायको आधारमा नेपालकै दोस्रो स्थानमा रहेको छ।
खत्रीको कार्यकालमा नेपालगञ्जमा नेशनल लाइफको अत्याधुनिक भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको छ। २०५१ सालमा एक्जुकेटिभ सहायक पदबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका खत्री २६ वर्षपछि सीईओ पदमा नियुक्त भएका थिए। यस पटक ३० औं वर्षमा दोस्रो पटक सीईओमा नियुक्त भएका छन्।

