काठमाडौँ । काठमाडौँमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।
आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो ।
महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार बिहान बन्दसत्रको बैठक सुरु गरेर निर्वाचन प्रक्रिया अघि बढाइने छ ।
अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।
यी हुन अध्यक्षका आकांक्षी
अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्षे उमेरहद लाग्दैछ। उमेरहद लाग्दा निवर्तमान कमिटीका १७ पदाधिकारी र तीन आयोग प्रमुखमध्ये १५ जना बाहिरिनेछन्।
पाँच जना सचिव मात्रै बाँकी रहनेछन्। सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा। सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्रै बाँकी रहन्छन्। उनीमध्येलाई नै अध्यक्ष बनाउने तयारी भइरहेको छ।
अहिले पाँचै जनाले अध्यक्षको आकांक्षा राखेको अनेरास्ववियुका प्रतिनिधिहरूले बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अखिलका वर्तमान र पूर्वनेताहरू बोलाएर सहमतिमै नेतृत्व चयन गर्न आग्रह गरेका थिए। तर सहमतिको सम्भावना भने झीनो छ।
अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र चार सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित हुनेछ।
यसैगरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो ।
आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।
अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् ।

