काठमाडौं । नेपाली समाजमा दम्पती मिलेर जीवन यापन गर्ने, घर परिवार चलाउने र भविष्य निर्माण गर्ने परम्परा छ। यस्ता पारिवारिक संरचना र सामाजिक मूल्यलाई ध्यानमा राख्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘दम्पती जीवन बीमा’ योजना सार्वजनिक गरेको छ। यो योजना विवाहित दम्पतीहरूलाई लक्षित गरी आर्थिक सुरक्षा र दीर्घकालीन बचत सुविधा दिने उद्देश्यले ल्याइएको हो।
बीमालेखअन्तर्गत दम्पतीमध्ये एक वा दुवै जनालाई दुर्घटना, अशक्तता, मृत्यु वा घातक रोग लागेमा आर्थिक राहत प्रदान गरिनेछ। बीमा अवधिमा यदि कुनै एक व्यक्तिको मृत्यु वा पूर्ण अशक्तता भएमा बीमांक बमोजिमको रकम भुक्तानी हुनेछ भने, दुवै जिवित रहेमा बीमा अवधिको अन्त्यमा बीमांक र बोनस एकमुष्ट प्राप्त हुनेछ। साथै, बीमा अवधिमा घातक रोग लागेमा जनही २५ लाख रुपैयाँसम्मको उपचार खर्च भुक्तानीको व्यवस्था पनि यस योजनामा गरिएको छ।
उदाहरणका लागि, ३२ वर्षकी लक्ष्मी र ३५ वर्षका उनका श्रीमान् हरि कुबेरले २५ लाख रुपैयाँ बीमांकको ‘दम्पती जीवन बीमा’ योजना २१ वर्षका लागि खरिद गरेका छन्। उनीहरूले हरेक वर्ष १ लाख ६५ हजार २ सय ५० रुपैयाँ प्रिमियम तिर्ने व्यवस्था गरिएको छ। यस योजनाले अशक्तता वा मृत्युजस्ता जोखिमलाई व्यवस्थापन गर्नमात्र होइन, दीर्घकालीन बचतको माध्यमको रूपमा पनि काम गर्छ।
सानिमा रिलायन्सले यो योजना २१ वर्षदेखि ५० वर्ष उमेरसम्मका विवाहित दम्पतीलाई लक्षित गरी ल्याएको हो। श्रीमान–श्रीमतीबीचको उमेरअन्तर अधिकतम सात वर्षसम्म मात्र मान्य हुने र बीमा अवधि न्यूनतम १५ वर्षदेखि अधिकतम ३० वर्षसम्म राख्न सकिने व्यवस्था छ। बीमितले आर्थिक हैसियतअनुसार न्यूनतम ५० हजारदेखि इच्छाअनुसारको बीमा रकम छनोट गर्न सक्नेछन्।
कम्पनीका अनुसार प्रिमियम भुक्तानी वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रूपमा गर्न सकिने लचिलो विकल्प दिइएको छ। जीवनको अनिश्चित अवस्थाबाट सुरक्षित रहन विवाहित जोडीले विवाहपछिको सुरुवातमै यो बीमा खरिद गर्नु उपयुक्त हुने कम्पनीको सुझाव छ। सानिमा रिलायन्सले पारदर्शी सेवा, सुदृढ वित्तीय अवस्था र सामाजिक सन्दर्भअनुकूल योजनाका कारण यो योजना नेपाली दम्पतीहरूका लागि उत्कृष्ट विकल्प हुने दाबी गरेको छ।

