काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा १ सय ७८ वटा खाद्य उद्योगविरुद्ध कारबाहीका लागि मुद्दा दायर गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य वस्तु उत्पादन गर्ने खाद्य उद्योगविरुद्ध कारबाहीका लागि विभागले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा दायर गरिएका १ सय ७८ मुद्दाहरू मध्ये प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न/दलहनका २९ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका २२ वटा, तेल तथा घ्यूजन्य पदार्थका १८ वटा, दूध तथा दुग्ध पदार्थका १६ वटा, मसलाका ९ वटा, फल तथा सागपात जन्य पदार्थका ३ वटा, चिया/कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको विभागले जनाएको छ ।

