काठमाडौं । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद रेशम बहादुर जुग्जालीले गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा बजेट पुस्तिका च्यातेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममाथिको छलफलका क्रममा जुग्जालीले बजेट पूर्वाग्राही रहेको भन्दै आक्रोश पोख्दै रोष्ट्रममै बजेट पुस्तिका च्यातेका हुन्। बजेट देवता केन्द्रित भएको भन्दै कटाक्ष गर्दै उनले भने, “सबैभन्दा बढी त अहिलेको बजेटबाट देवीदेवता नै खुसी भएका होलान्।”
सांसद जुग्जालीले म्याग्दी जिल्लाको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म घुमेर हेर्न अर्थमन्त्री र भौतिक मन्त्रीलाई सुझाव पनि दिए।
उनले गण्डकी प्रदेशको बजेट योजनाविहीन रहेको भन्दै टिप्पणी गर्दै भने, “यो बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागर तिर पुगेजस्तो भएको छ।”

