काठमाडौँ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लाग्ने बताएका छन् ।
शनिबार प्रस्तुत बजेटका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लाग्ने बताएका हुन् ।
सरकारले बजेट कार्यन्वयनका लागि आगामी आर्थिक वर्षको साउनबाटै काम सुरू गर्ने उनले बताए । अस्थिर राजनीतिले बजेटको कार्यान्वयनलगायतमा प्रभाव पार्ने गरेको बताउँदै मन्त्री गुरुङले प्रदेशको विकासका लागि बजेट कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेको समेत बताए ।
‘अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा समस्या हुँदै आएको छ तर हामी सबै मिलेर आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गरेर प्रदेशको विकासमा मिलेर अगाडि बढ्नुपर्छ । यसमा सबैको सहयोग रहने विश्वास छ’, उनले भने ।
प्रदेशमा रहेका पर्यटकीय सम्भावनालाई मध्यनजर गरी पर्वतीय पदयात्रा पर्यटनसँगै धार्मिक पर्यटनलाई जोड दिइएको उनको भनाई थियो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले प्रदेशको दोस्रो पञ्चवर्षीय योजना र बजेटबीच तालमेल रहेको बताए । आगामी बजेट दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनको पहिलो सुरूआती भएकाले प्रदेश रूपान्तरणका १४ वटा प्राथमिकताका क्षेत्र अनुसार बजेट व्यवस्था गरिएको उनले जानकारी दिए ।
मन्त्रालयका सचिव पुरुषोत्तम शर्माले वित्तीय समानीकरण अनुदानमा भएको कमीले यसवर्ष प्रदेशको बजेट आकार केही घटेको बताए ।
गण्डकी प्रदेश सरकारले आव २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १३ अर्ब १६ करोड पाँच लाख ८२ हजार छ भने पुँजीगतर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार विनियोजन गरिएको छ ।
बजेटमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ६३ करोड ८८ लाख, राजस्व बाँडफाँँटबाट नौ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ तीन अर्ब १० करोड ११ लाख, समपूरक अनुदानतर्फ एक अर्ब १९ करोड र विशेष अनुदानतर्फ ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

