पोखरा । नेपाल आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमा पहिलो पटक स्वदेशी सीप, पुँजी र परामर्शदातामार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न गरेको छ ।
नेपालकै पर्यटन राजधानीका रूपमा रहेको पोखरामा निर्माण सम्पन्न भएको यो डिपो अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरूलाई नियमित रूपमा हवाइ इन्धन आपूर्ति गर्न सक्षम भएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निगमका अनुसार ९,२१५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणबाट लिजमा लिई डिपो निर्माण गरिएको हो। उक्त डिपोमा ३ वटा १२ सय किलोलिटर क्षमताका भण्डारण ट्याङ्क (कुल क्षमता ३ हजार ६ सय किलोलिटर) निर्माण गरिएका छन्। ट्याङ्कको उचाइ र व्यास १२–१२ मिटर रहेको छ।
२०७७ साल चैत २ गते सार्वजनिक खरिद नियमानुसार बोलपत्र आह्वान भएपनि विविध प्राविधिक र प्रशासनिक कारणले निर्माण कार्य २०७९ कात्तिक २९ मा मात्रै अघि बढाइएको थियो। त्यसपश्चात २०७९ पुस १५ मा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता सम्पन्न भएको थियो ।
तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा २०८० साउन १ गते निर्माणको शिलान्यास गरिएको थियो। तत्पश्चात निर्माण कार्यलाई निरन्तरता दिई सन् २०२५ को मध्यसम्म सम्पन्न गरिएको हो।
सुरक्षात्मक पूर्वाधार र प्रविधि
प्रज्वलनशील इन्धन भण्डारण हुने डिपो भएकाले सुरक्षालाई प्राथमिकता दिइएको छ। डिपोमा १३० घनमिटर क्षमताका २ वटा डिजेल पम्प, ९५ हर्सपावर क्षमताको १ वटा जक्की पम्प, र ८ इन्चको मुख्य पाइपलाइन जडान गरिएको छ।
त्यसैगरी, ४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्याङ्क तथा १२ सय किलोलिटरको पानी ट्यांकी जडान गरिएकाले आगलागीको जोखिम न्यून पार्न ठूलो मद्दत पुग्ने विज्ञहरूको भनाइ छ। फायर फाइटिङ प्रणालीलाई फोम र पानी मिसाएर चल्ने प्रविधिमा आधारित बनाइएको छ, जसले आकस्मिक आगलागी नियन्त्रण गर्न तुरुन्त सक्रिय भूमिका खेल्न सक्छ।
इन्धन आपूर्ति तथा गुणस्तर मापदण्ड
डिपोमा हवाई इन्धन लोड-अनलोड गर्ने क्रममा १ माइक्रोन र ५ माइक्रोनका फिल्टर प्रयोग गरिएको छ। यी प्रविधिहरूले आपूर्तिमा गुणस्तर कायम गर्न मद्दत पुर्याउँछन्।
डिपोमा प्रयोग भएका स्टोरेज ट्याङ्क र फलामका पाइपहरू ‘अमेरिकन पेट्रोलियम इन्स्टिच्युट’ का मापदण्डअनुसार बनाइएको निगमले जनाएको छ। जसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा र गुणस्तर मापदण्ड पूरा गर्ने संकेत गर्छ।
डिपो निर्माणको सशोधित लागत अनुमान (Price Adjustment / Variation Order पछि) ७५ करोड रुपैयाँ (भ्याट बाहेक) रहेको निगमले जनाएको छ। परियोजनामा प्रयोग भएका स्रोतहरू पूर्ण रूपमा स्वदेशी रहेका छन्।
नेपाल आयल निगमले यस परियोजनालाई आफ्नो ५५ वर्षे इतिहासकै प्रमुख स्वदेशी उपलब्धिका रूपमा व्याख्या गरेको छ। आन्तरिक स्रोत र जनशक्ति प्रयोग गरेर सम्पन्न गरिएको डिपोले आगामी दिनमा स्वदेशी प्रविधि र क्षमतामा विश्वास बढाउने संकेत पनि दिएको निगमको भनाइ छ।
यस प्रोजेक्टले पोखरा विमानस्थलमा स्वावलम्बी इन्धन आपूर्ति प्रणालीको सुरुवात गरेको छ, जुन भविष्यमा अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पनि लागू गर्न सकिने उदाहरण बन्ने जनाइएको छ ।



