काठमाडौं । २०५८ सालको स्थापना भएको एनसेल आजियाटाको हालसम्म १४ पटक शेयर खरिद बिक्री भएको पाइएको छ ।
सरकारी निकायलाई जानकारी बिना नै नेपालबाहिर एनसेलको शेयर खरिद बिक्री भएको भन्दै सरकारले अध्ययन गर्न गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवदेनमा उक्त कुरा उल्लेख गरिएको छ ।
१ सय ११ पेज र ७ भागमा विभाजन गरि तयार पारिएको उक्त प्रतिवेदनको निष्कर्षमा एनसेलले शेयर खरिद बिक्रीको आधिकारिक जानकारी नेपालका आधिकारिक निकायहरुमा पेश गरेको नदेखिएको उल्लेख छ ।
विदेशमा एनसेलको शेयर खरिद बिक्री भएपछि सरकारले २०८९ मंसिर २१ गते पूर्वमहालेखा परीक्षक टंकमणी शर्माको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गत माघ १५ गते नै प्रतिवेदन बुझाइसकेको थियो । तर प्रचण्ड सरकारले उक्त प्रतिवेदन गोप्य राखेका थिए ।
सीएनएन खबरलाई प्राप्त उक्त प्रतिवेदनमा निष्कर्षमा भनिएको छ, ‘नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा (साविकको स्पाइस सेल प्रालि) वि.सं. २०५८ सालमा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएकोमा ती खरिद बिक्रीमा धेरैजसो कारोबारहरु नेपालबाहिर नै अफसोर रुपमा भएको तर उक्त कारोबारहरुसँग सम्बन्धित लेनदेनका सम्पूर्ण अभिलेख तथा विवरणहरु कम्पनीले नेपालका आधिकारिक निकायहरुमा पेश गरेको नदेखिएको र कतिपय नेपाली शेयरधनीहरुको कारोबारको भुक्तानी नेपालको बैंकिङ प्रणालीबाट नभइ देशबाहिर समेत भएको देखियो ।’
नेपाली लगानीकर्ताले विदेशमा राखे पैसा
उक्त समितिले नेपाली शेयरधनीले एनसेलको शेयर खरिद बिक्रीको रकम विदेशमै राखेको समेत उल्लेख गरेको छ । १४ पटक शेयर खरिद बिक्री हुँदा नेपाली शेयरधनीहरुको कारोबारको भुक्तानी नेपालको बैकिङ प्रणालीमा नदेखिएको प्रतिवेदनमा उल्लेख छ । समितिले नेपाली शेयरधनीहरुको कारोबारको भुक्तानी नेपालको बैंकिङ प्रणालीबाट नभइ देशबाहिर समेत भएको देखिएको जनाएको हो ।
पब्लिक कम्पनी भएकोमा प्रश्न
एनसेल प्रालिका नामबाट कारोबार हुँदै आएको कम्पनीले २०७७ को श्रावण १९ गते पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भइ एनसेल आजियाटा लिमिटेड भएको थियो । एनसेलले आफ्ना ७ जना कर्मचारीलाई ११ कित्ता शेयर दिएर पब्लिक कम्पनी बनाएको भन्दै छानबिन समितिले प्रश्न उठाएको छ ।
‘स्थापनादेखि हालसम्म कम्पनीको विदेशी र स्वदेशी लगानीको अनुपातमा पटक पटक फेरवदल आई हाल उक्त कम्पनीमा करिब २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी लगानी कायम रहेको विस २०७७ साल श्रावण १९ गते थप ७ जना सोही कम्पनीका कर्मचारीहरुलाई ११ कित्ता शेयर बिक्री गरी कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको स्वभाविक नदेखिएको’, प्रतिवेदनमा भनिएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट साउन १९ गते पब्लिक कम्पनीको अनुमति पाएसँगै कम्पनीले साउन २३ गते एक विज्ञप्ती जारी गर्दै सर्वसाधारणका लागि शेयर जारि गर्ने बाटो खुलेको उल्लेख गरेको थियो ।
कम्पनी ऐन, २०६३ अनुसार पब्लिक लिमिटेड कम्पनी हुनका लागि कम्तीमा ७ जना शेयर होल्डर हुनुपर्ने व्यवस्था छ । २ जना शेयरहोल्डर रहेको कम्पनीले आफ्नै कर्मचारीलाई ११ कित्ता शेयर हस्तान्तरण गरेर ९ जना शेयर होल्डर बनाएर पब्लिकमा रुपान्तरण गरेको थियो ।
१० करोड लगानी, १ खर्ब १३ अर्ब आम्दानी
एनसेलले नेपालमा व्यवसाय शुरु गरेदेखि हालसम्म १ खर्बभन्दा बढी नाफा कमाएको पाइएको छ ।
उक्त प्रतिवेदन अनुसार ८ करोड विदेशी तथा २ करोड नेपाली गरी जम्मा १० करोड रुपैयाँमा स्थापीत उक्त कम्पनीले हालसम्म १ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले उक्त नाफामध्ये ९३ अर्ब ५० करोड रुपैयाँ लाभांश घोषणा गरी ६६ अर्ब ९५ करोडभन्दा बढी लाभांश र थप २ अर्बभन्दा बढी रकम अन्य शीर्षकमा विदेश लग्दा स्वदेशी शेयरधनीले लाभांश वापत १९ अर्ब ९५ करोड रुपैयाँ प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
वि.सं. २०५८ सालमा मोदी कर्प लिमिटेड भारत, स्पाइस सेल लिमिटेड भारत र खेतान ग्रुप लिमिटेड नेपालले नेपालमा दूरसञ्चार सेवा सञ्चालन गर्ने उद्देश्यले १ करोड रुपैयाँ चुक्ता पुँजीमा स्पाइस नेपाल प्रालि नामक कम्पनी दर्ता गरेर सेवाको स्वीकृति लिएका थिए । तर, सो कम्पनीको व्यवसायिक सुरूवात भने आर्थिक वर्ष ०६२/६३ बाट भएको थियो ।
पहिलो वर्षमा कम्पनीले २५ करोड ७० लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । त्यसपछि भने निरन्तर रूपमा लाभांश वितरण गरिरहेको छ । सरकारी अनुसन्धान प्रतिवेदनमा एनसेलको सम्पूर्ण वित्तीय अवस्था प्रस्तुत गरिएको छ ।
प्रतिवेदनको पृष्ठ ३९, ४०, ४१, ४२, ४३, ४४ र ४५ मा एनसेलको वित्तीय अवस्था, नाफा नोक्सानको अवस्था, कर्जा तथा धितोको अवस्था, मुनाफा सम्बन्धी विवरण लगायतका विषयहरू प्रस्तुत छ ।
प्रतिवेदन अनुसार एनसेलले आर्थिक वर्ष २०६१/०६२ देखि ०७९/०८० सम्म १ खर्ब १३ अर्ब ५८ करोड ५८ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । सोही नाफाबाट कम्पनीले ९३ अर्ब ५० करोड ८० लाख रूपैयाँ लाभांश वितरणसमेत गरेको उल्लेख छ ।
कम्पनीले सोही अवधिमा प्राविधिक तथा व्यवस्थापकीय सेवा सम्झौता अन्तर्गत उद्योग विभाग र नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर २ करोड ४८ लाख ५० हजार अमेरिकी डलर पनि विदेश लगेको प्रतिवेदनमा उल्लेख छ ।
याे पनि :
लाइसेन्स नवीकरण शुल्क तिर्न एनसेलको बखेडाः नवीकरण नै नगर्ने सरकारको तयारी
सञ्चार सेवा प्रदायक कम्पनी नवीकरणमा घुसखोरी छ : मन्त्री गुरुङ

