काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा फैलिएको गम्भीर भ्रष्टाचारप्रति आपत्ति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आयोगमा ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारका ठूला काण्डहरूमा निष्पक्ष छानबिन र कारबाहीको माग गरेको हो।
राप्रपाले ज्ञापनपत्रमार्फत नेपालमा भ्रष्टाचार महामारीझैँ फैलिएको आरोप लगाएको छ। केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा नै चलिरहेको उल्लेख गर्दै पार्टीले उच्च तहका राजनीतिक नेतृत्व नै अनुसन्धानको दायराबाट उम्किनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “मन्त्रीहरूकै संलग्नतामा भइरहेका भ्रष्टाचारका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। उनीहरूबीच को छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ।”
अख्तियारका प्रमुख आयुक्तसमेतकै विदेशमा भ्रष्टाचार रकमको डिलिङ हुनेजस्ता गम्भीर आरोपहरूमाथि छानबिन हुनु पर्ने राप्रपाको भनाइ छ। पार्टीले सुडान घोटाला, ललिता निवास प्रकरण, वाइडबडी विमान खरिद, क्यान्टोन्मेण्ट हाउजिङ, ओम्नी समूहसँगको सम्झौता, एनसेल कर प्रकरणलगायतका ठूला काण्डहरू अझै निष्कर्षमा नपुग्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा प्रश्न उठेको उल्लेख गरेको छ।
राप्रपाले अख्तियारलाई भ्रष्टाचार नियन्त्रण गर्न संवैधानिक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै अब ढिला नगरी ठूला माछालाई कारबाहीको दायरामा ल्याउन स्पष्ट र ठोस कदम चाल्न माग गरेको छ।

