विराटनगर । उदयपुरमा एक अचम्मको र जोखिमपूर्ण घटना घटेको छ। खेल्ने क्रममा १५ वर्षीय एक बालकले गल्तीले निलेको कैंची विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरेर निकालिएको छ।
उक्त बालकले टेलिभिजन हेर्दै खेल्ने क्रममा हातमा रहेको कैंची अनायासै मुखमा हाल्दा त्यो कैंची घाँटी हुँदै पेटसम्म पुगेको थियो। परिवारले झिक्ने प्रयास गर्दा अझ गहिरो प्रवेश गरेपछि उनीहरू आत्तिएर तुरुन्तै नजिकको अस्पताल लगे। एक्स–रे परीक्षणमा बालकको आन्द्रामा कैंची अड्किएको पुष्टि भएपछि उनलाई थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो।
नोबेल अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र उनको टोलीले आधुनिक ल्याप्रोस्कोपिक प्रविधिको प्रयोग गर्दै सफलतापूर्वक शल्यक्रिया गरेका हुन्। डा. भट्टराईका अनुसार, "कैंची आन्द्रामा अड्किएको अवस्थामा रहन गएको भए आन्तरिक रक्तस्राव, संक्रमण वा आन्द्रा नै क्षतिग्रस्त हुने जस्ता जटिल अवस्था आउन सक्थ्यो। तर समयमै गरिएको शल्यक्रियाले जोखिम टार्न सकियो।"
बालकको अवस्था अहिले पूर्ण रूपमा स्थिर रहेको र दुई दिन अस्पतालमा बसेपछि उनी घर फर्किएको अस्पताल स्रोतले जनाएको छ। परिवारजनले अस्पतालको तदारुकता र दक्ष चिकित्सकप्रति आभार प्रकट गरेका छन्।
नोबेल अस्पतालमा यसअघि पनि बेल्टको बक्कल, ब्रस, हड्डीजस्ता अनौठा वस्तु निलेर आएका बिरामीको सफल उपचार भइसकेको छ। अत्याधुनिक उपकरण र अनुभवी चिकित्सकहरूको समन्वयमा अस्पताल यस्ता जटिल र दुर्लभ शल्यक्रियामा निरन्तर सफलता हासिल गर्दै आएको छ।
चिकित्सकहरूले अभिभावकहरूलाई साना वस्तुहरू बालबालिकाको पहुँचमा नराख्न तथा किशोर वा वयस्कले पनि खतरनाक वस्तु जिस्कँदै मुखमा नराख्न आग्रह गरेका छन्। यस्तो लापरवाहीले जीवन नै संकटमा पार्न सक्ने चिकित्सकहरूको चेतावनी छ।

