मनाङ । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको आगमन वर्षेनि वृद्धि हुँदै गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र १३४ राष्ट्रका ३७ हजार ७३२ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन्।
उक्त संख्यामा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ महिला र ६ जना अन्य लिङ्गका पर्यटक रहेका छन्।
इजरायली पर्यटक सर्वाधिक
कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार, उक्त वर्ष सबैभन्दा बढी इजरायलका ४ हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका छन्। यस्तै, फ्रान्सबाट ३ हजार ६१६ र जर्मनीबाट २ हजार ८४२ पर्यटक आएका थिए। सार्क राष्ट्रबाट २ हजार ५५४ र अन्य देशका ३५ हजार १७८ पर्यटक आएका थिए।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ विदेशी पर्यटक मनाङ आएका थिए। त्यसबेला भने फ्रान्सेली नागरिकको संख्या सबैभन्दा बढी थियो।
भुजेलले भने, “यहाँ आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। पर्यटनले मनाङवासीको आर्थिक स्तर मात्र नभई राष्ट्रको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ।”
तिलिचो ताल आन्तरिक पर्यटकको रोजाइमा
मनाङमा आन्तरिक पर्यटकको पनि उल्लेख्य संख्यामा आगमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार, ३–४ दिन लामो बिदा परेका बेला आन्तरिक पर्यटकको आगमन उच्च हुने गरेको छ।
मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङका अनुसार, आन्तरिक पर्यटक विशेषगरी तिलिचो तालको भ्रमणका लागि आउने गरेका छन्। तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ पुग्ने विदेशी तथा आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहेको छ।
कोभिड र बाढीपछि वृद्धि
कोभिड महामारी र २०७८ सालको बाढीपछिको अवस्थालाई तुलनात्मक रूपमा हेर्दा हाल पर्यटकको आगमन दर बढिरहेको छ। हिमाल, पहाड, प्राकृतिक सौन्दर्य, स्थानिय संस्कार-संस्कृति र अन्नपूर्ण पदमार्गको सौन्दर्यताले पर्यटकलाई आकर्षण गरिरहेको छ।
अन्नपूर्ण पदमार्ग जोडिएका पाँच जिल्ला
अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्। पदयात्रा लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ हुँदै मुस्ताङ र पोखरा पुग्ने गरिएको छ। पछिल्लो समय सडक सञ्जालको विस्तारसँगै पर्यटक चामे, खाङ्सारसम्म सवारीसाधनबाट पुग्ने गरेका छन्, त्यसपछि मात्र पदयात्रा सुरु गर्ने चलन बढेको छ।

