काठमाडौं । कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयको टोलीले यादवलाई सोमबार ७ लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट काठ ढुवानीको लागि आवश्यक बिमर्का र छोडपूर्जी दिन सेवाग्राहीसँग मागेको सो घुस लिइसकेको अवस्थामा यादवलाई रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार यादवमाथि अहिले थप अनुसन्धान भइरहेको छ। अख्तियारले सार्वजनिक पदधारीद्वारा गैरकानुनी लाभ लिने कार्यमाथि निगरानी बढाउँदै आएको छ। यो कारवाही त्यसैको निरन्तरता हो।

