काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसँग घुस अडियो प्रकरणमा बयान लिन सुरु गरेको छ।
बुधबार विहान १० बजेदेखि आयोगको कार्यालयमा श्रेष्ठसँग सोधपुछ सुरु भएको अख्तियार स्रोतले जनाएको छ।
कास्की मालपोत कार्यालय प्रमुखको सरुवा र थमौतीसम्बन्धी सार्वजनिक घुस अडियोको अनुसन्धान क्रममा पूर्वमन्त्री श्रेष्ठको संलग्नता देखिएपछि आयोगले उनलाई बयानका लागि बोलाएको हो।
यसअघि निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो सार्वजनिक भएपछि त्यसको स्रोतबारे अनुसन्धान भइरहेको थियो। सोही क्रममा अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्र्याकिङ गर्दा केही शंकास्पद कल तथा म्यासेज फेला परेको थियो।
“त्यस क्रममा तत्कालीन मन्त्री रञ्जिताले पनि रकम मागेको प्रमाण भेटिएको छ,” अख्तियार स्रोतले भन्यो, “साथै उनको निजी सुरक्षा अधिकृत (PSO) को मोबाइलबाट पनि लेनदेनसँग सम्बन्धित शंकास्पद म्यासेज आदानप्रदान भेटिएपछि अनुसन्धानलाई अगाडि बढाइएको हो।”
अख्तियारले यस प्रकरणमा थप व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने तयारी गरिरहेको छ।

