काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने दाबीलाई गलत र भ्रामक बताएका छन् ।
आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चितवनमा विद्युत आपूर्ति केही समयका लागि रोकिएको भए पनि त्यो लोडसेडिङ नभई सबस्टेशन स्तरोन्नति र मर्मतका लागि गरिएको अस्थायी व्यवस्था भएको स्पष्ट पारे ।
उनका अनुसार, पुरानो कन्डक्टरले लोड थेग्न नसक्ने अवस्था आएकाले अब नयाँ कन्डक्टर जडान गरी क्षमतावृद्धि गरिँदैछ । “सबस्टेशन अपग्रेड गर्न र पुरानो कन्डक्टर फेर्नका लागि अस्थायी रूपमा बत्ती काटिएको हो, यो नियोजित लोडसेडिङ होइन,” उनले भने ।
बक्यौता विवाद समाधान समितिको म्याद थप
शाक्यले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् सेवा लिएका उपभोक्ताबाट उठ्न बाँकी रहेको बक्यौता विवाद समाधानका लागि गठन गरिएको प्रशासकीय पुनरावलोकन समितिको म्याद ३५ दिन थप गरिएको जानकारी पनि दिए ।
बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले समितिको म्याद थप गर्ने निर्णय गरेको हो ।
उनले भने, “समितिले निर्णय गरेपछि बक्यौता असुली प्रक्रिया अघि बढाइनेछ, यदि बक्यौता तिर्न अस्वीकार गरिएमा सम्बन्धित लाइन काटिनेछ ।”
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता हाल २४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । समितिको अध्यक्षता सञ्चालक समिति सदस्य श्यामकिशोर यादवले गरिरहेका छन् ।
प्राधिकरणले मर्मत तथा व्यवस्थापन सुधारलाई तीव्रता दिइरहेको बताउँदै उपभोक्ताहरूलाई भ्रामक प्रचारप्रति सचेत रहन आग्रह गरेको छ ।

