२०८३, आश्विन १९ गते

images

दोर्दी गाउँपालिकाको ९ वटै वडामा निःशुल्क स्वास्थ्य बीमाको सुरुवात

दोर्दी गाउँपालिकाको ९ वटै वडामा निःशुल्क स्वास्थ्य बीमाको सुरुवात

मंगलवार, श्रावण १३ २०८२०६:१८
मंगलवार, श्रावण १३ २०८२०६:१८
  • images

    काठमाडौँ । दोर्दी गाउँपालिकाले ९ वटै वडामा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरेको छ । पालिकाले आइतबारदेखि मंगलबार सम्म सवै वडामा पूगेर स्वास्थ्य बीमा अभियानको सुरुवात गरेको हो । गाउँपालिकाले पहिलो दिन आइतबार वडा नम्बर १ भार्ते, वडा नम्बर दुई अर्चलबोट, वडा नम्बर ३ श्रीमञ्ज्याङ र वडा नम्बर ४ नौथर शेरामा छुट्टाछ्ट्टै कार्यक्रमको आयोजना गरि निःशुल्क बिमा कार्यक्रमको सुरुवात गरेको थियो ।

    दोस्रो दिन सोमबबार वडा नम्बर ५ पाचोक र वडा नम्बर ९ हिलेटक्सारमा स्वास्थ्य बिमा अभियान कार्यक्रमको सुरुवात गरेको हो । तेस्रो दिन मंगलबार वडा नम्बर ६ डोडेनी, वडा नम्बर ७ फलेनी र वडा नम्बर ८ बन्सारमा कार्यक्रमको आयोजना गरि कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

    गाउँपालिकाले ९ वटै वडाका चार हजार दुई सय २५ घरधुरीका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य लिएको छ । साउन महिनाभित्र सबै गाउँपालिकाको नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिसक्ने र असोज १ गतेबाट लागु हुने अध्यक्ष अधिकारीले बताए । बिमाका लागि पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपियाँ लाग्ने छ ।  पाँच जना भन्दा बढी व्यक्ति भएका परिवारमा लाग्ने प्रतिव्यक्ति सात सय रुपियाँ पनि पालिकाले बेहोर्ने अध्यक्ष अधिकारीले बताए ।

    गाउँपालिकाले ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नारा तय गरी गाउँपालिकाका नागरिकको स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । दोर्दीमा सञ्चालित जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बिमा गरिने अध्यक्ष अधिकारीले बताए । “यहाँ जलविद्युत् आएर हामीले के पायौं भनेर जनताले प्रश्न गर्ने गरेका थिए । जलविद्युतबाट हुने आम्दानी जनताको स्वास्थ्यमा लगानी ग¥यौं” अधिकारीले भने, “अब यो कहिले रोकिदैन, वृद्ध भत्ता दिएजस्तै हो, निरन्तर चलिरहन्छ ।”

    दोर्दी गाउँपालिकाको गत असार १० गते पारित आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा दोर्दी गाउँपालिका स्थायी ठेगाना भई स्थायी रूपमा बसोवास गरी दोर्दीमै चुलो बालिरहेका सबै घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने उल्लेख छ । यसका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

    दोर्दीमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना लगायत छन् ।  यी जलविद्युत आयोजनाबाट प्राप्त हुने रोयल्टीबाट निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा बोर्डअन्तर्गत वडामा रहेका बिमा सहजकर्तामार्फत नागरिकहरूको बिमा हुने छ ।

    स्वास्थ्य बिमा बोर्ड लमजुङका संयोजक रमेश खनियाले साउन महिनाभित्र दोर्दी गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बिमा गराइने बताउनुभयो । यसका लागि वडा कार्यालयको समन्वयमा सहजकर्ता टोल–टोलमा जाने छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend