काठमाडौँ । नेपाल शेयर बजार लगानीकर्ता संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेको छ ।
पूँजीबजार सुधार र लगानीकर्ताको हकहितका सम्बन्धमा गठन भएको नेपाल शेयर बजार लगानीकर्ता संघले विभिन्न माग राख्दै अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेको हो ।
सो भेटमा नेपालको पूँजीबजारको वर्तमान अवस्था, लगानीकर्ताहरूका हकहित, बजारको उन्नति र प्रगति एवं समय–सापेक्ष सुधारका विषयमा विस्तृत छलफल भएको थियो । भेटघाटका क्रममा संघले पूँजीबजारको विकासका लागि अर्थ मन्त्रालयको भूमिकाबारे आफ्नो स्पष्ट धारणा राख्दै एक सुझाव–पत्र समेत पेश गरेको छ ।
संघका उपाध्यक्ष इन्जिनियर भगवान बहादुर राउतको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पूँजीबजारको दिगो विकास र विस्तारका लागि लगानीकर्तामैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको थियो । छलफलका क्रममा संघका महासचिव रविन कँडेलले लगानीकर्ताको हित संरक्षणका लागि बलियो पूर्वाधारको सुदृढीकरण, बजारको विकासका लागि गतिशील एवं सकारात्मक निर्णयहरूको कार्यान्वयन तथा नीतिगत स्थिरता आवश्यक रहेको कुरा प्रस्टए ।
उनले बजारलाई आधुनिक र विश्वसनीय बनाउन गरिनुपर्ने सुधारका कार्यहरूमा ढिलाइ गर्न नहुने धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी, संघका कार्यसमिति सदस्य सुदर्शन गौतमले पूँजीबजारसँग सम्बन्धित विविध विषयहरूमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । भेटघाटमा उपस्थित संघका पदाधिकारी तथा सदस्यहरूले पनि छलफलमा सक्रियतापूर्वक भाग लिँदै बजारका समस्या र समाधानका उपायहरूबारे आफ्ना विचारहरू राखेका थिए ।
यस्ता छन् संघले राखेका ३ माग
१. छुट्टाछुट्टै ISIN नम्बरको कार्यान्वयन: सीडीएससी (CDSC) द्वारा जारी गरिएको निर्देशिकाअनुसार प्रोमोटर र साधारण शेयर (IPO) का लागि छुट्टाछुट्टै ISIN नम्बर अविलम्ब लागू गरी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने।
२. नेप्सेमा तत्काल सुधार: नेपाल स्टक एक्सचेन्ज (NEPSE) को प्रणालीगत तथा प्राविधिक सुधारका कामहरू तत्काल सुरु गरी लगानीकर्ताले भोग्नुपरेका समस्याहरूको अन्त्य गर्नुपर्ने।
३. नियामक निकायको संरचनात्मक सुधार: नेपाल धितोपत्र बोर्ड (SEBON) लगायत पूँजीबजारसँग सम्बन्धित सबै नियामक निकायहरूलाई एउटै छातामुनि (Single Basket) ल्याई एकीकृतरूपमा संरचनात्मक सुधारको प्रक्रिया अगाडि बढाउनुपर्ने, जसले नीतिगत समन्वय र प्रभावकारी नियमन सुनिश्चित गर्नेछ।

