काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
आइतबार सार्वजनिक गरेको एक वर्षको तथ्याङ्कसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै, आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ दशमलव ० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो ।
बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव ५ प्रतिशतले बढेको छ । यस्तै, शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ ।

