२०८३, आश्विन २० गते

images

ठूलो रकम अपचलन प्रकरणमा मुछिदै अर्को बैंकः  शाखा प्रबन्धकसहित ४ जना पक्राउ

ठूलो रकम अपचलन प्रकरणमा मुछिदै अर्को बैंकः  शाखा प्रबन्धकसहित ४ जना पक्राउ

सोमवार, श्रावण २६ २०८२०९:१०
सोमवार, श्रावण २६ २०८२०९:१०
  • images

    काठमाडौं । ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् ।

    बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

    चारै कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार सात सय अपचलन भएको पाइएको थियो । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो । बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरूलाई निलम्बन गरेको छ ।

    उनीहरूले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानुनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए । बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ । उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend