२०८३, आश्विन १९ गते

images
  • समाचार
  • नेपथ्यले वेम्बली एरिनामा रच्यो नयाँ इतिहास:...

नेपथ्यले वेम्बली एरिनामा रच्यो नयाँ इतिहास: १२ हजार दर्शकमाझ भव्य प्रस्तुति

नेपथ्यले वेम्बली एरिनामा रच्यो नयाँ इतिहास: १२ हजार दर्शकमाझ भव्य प्रस्तुति

सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२०२:०९
सीएनएन खबर
सोमवार, श्रावण २६ २०८२०२:०९
  • images

    लन्डन- नेपाली साङ्गीतिक समूह नेपथ्यले बेलायतको प्रख्यात वेम्बली एरिनामा १२ वर्ष पुरानो आफ्नो रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ। शनिबार राति खचाखच भरिएको १२ हजार दर्शकको उपस्थितिमा नेपथ्यले अविस्मरणीय प्रस्तुति दिएको छ। कन्सर्टलाई दर्शकले उत्सवका रूपमा मनाएका थिए।

    कन्सर्टको माहोलको प्रत्यक्षदर्शी रहेकी मन्जरी दवाडी (एन्जल मन्जरी)ले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूले यसको उत्साह झल्काउँछन्। ‘सा कर्णाली’ गीत र नेपालका दृश्य देख्दा भावुक बनेकी उनी कन्सर्टभरि गीतमा मग्न भइन्। विदेशमा रहेका युवापुस्ताका लागि नेपथ्य, नेपाली गीत र स्वदेशको महत्व कति गहिरो छ भन्ने यो एउटा ज्वलन्त उदाहरण बनेको छ।

    तोकिएको समयमै सुरु भएको कन्सर्टको पहिलो गीत ‘कोशीको पानी’ थियो। त्यसपछि ‘आँगनैभरि’ गीत गाउँदा गायक अमृत गुरुङले यसको रचनाको कथा सुनाए। ३५ वर्षअघि याङ्जाकोटमा तयार भएको यो गीतको साक्षी रहेका अमृतका बाल्यकालका साथी पुस्कल गुरुङ पनि दर्शकदीर्घामा उपस्थित थिए। नेत्रज्योति गुमाउँदै गएका पुस्कलले भावुक हुँदै भने, “वेम्बलीमा शनिबार इतिहास रचिएको छ, त्यो इतिहासको साक्षी बन्न पाउँदा म धन्य छु।”

    गायक अमृतले गीत मात्र गाएनन्, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न आग्रह गर्दै विदेशिएका नेपालीलाई स्वदेशसँग जोड्ने आह्वान पनि गरे। अमृत भन्छन्, “लन्डनको यति ठूलो दर्शक घेराले समाजका विषयमा बोलेका कुरालाई मन पराइदिँदा छाती सगरमाथाजस्तै अग्लो भएको महसुस गरेँ।”

    nepathya 1.jpg

    कन्सर्टको अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’ पछि दर्शकको 'वान्स मोर'को अनुरोधलाई सम्मान गर्दै नेपथ्यले थप प्रस्तुतिको रूपमा ‘हिमाल चुचुरे’ सुनायो।

    नेपथ्यलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।

    ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, “नेपथ्यले वेम्बलीबाट पुरानो मानकलाई छिचोलेको मात्र छैन, नेपाली सङ्गीतकै इतिहासमा बन्द हलभित्र यति धेरै दर्शक जुटाउन सफल भएका छौँ।” कन्सर्ट हेर्न नेदरल्यान्ड्सबाट आएका मेडिकल फिजिसिस्ट विल्कोले १२ वर्षअघि अमृतको घाँटीको समस्याबारे सम्झँदै यसपटक अमृतलाई पुरानै ऊर्जाका साथ मञ्चमा देख्दा खुसीको सीमा नरहेको बताए।nepalthya_wembley1.jpg

    यो कन्सर्ट बेलायतको ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले आयोजना गरेका हुन्। आयोजक टोलीका दीपेन्द्र लामाले नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

    वेम्बलीमा प्रस्तुतिपछि नेपथ्य अब युरोपको शृङ्खलाबद्ध यात्रामा निस्कनेछ। यो यात्रा डेनमार्कको कोपेनहेगनबाट सुरु भएर माल्टा, पोर्चुगल हुँदै बेल्जियममा गएर टुङ्गिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend