काठमाडौं । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले उत्पादनमूलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको जानकारी दिएको छ।
भाषा परीक्षामा करिब ५ हजार ३०० जना उत्तीर्ण हुने अनुमान गरिएको छ। यसमा उत्पादनमूलक क्षेत्रका लागि ३ हजार ५०० र कृषि तथा पशुपालन क्षेत्रका लागि १ हजार ८०० जना उत्तीर्ण गराउने तयारी छ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण हुने संख्या थप घट हुन सक्नेछ।
आवेदन दिनको अन्तिम मिति साउन ३१ राखिएको छ। परीक्षा तालिका सम्बन्धमा थप सूचना पछि प्रकाशित गरिने ईपीएस कोरिया शाखाले जनाएको छ।
परीक्षा एक दिनमा बढीमा पाँच सिफ्ट सञ्चालन गरिनेछ। आवेदक संख्या वा अन्य कारणले परीक्षा तालिका फेरबदल हुन सक्ने सम्भावना रहेको छ। प्रत्येक व्यक्तिले एक क्षेत्रमै मात्रै आवेदन दिन पाउने व्यवस्था छ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणालीमार्फत नेपालबाट कामदार लैजान कोरियाली सरकारले सन् २००७ मा नेपाल सरकारसँग समझदारी गरेको थियो र सन् २००८ देखि कामदार पठाउने कार्य सुरु भएको हो।

