काठमाडौं । गएको दुई हप्तामा १३२.२७ अंकले घटेको सेयर बजार यस साता पनि ओरालो गतिमा सुरु भएको छ। सोमबार पहिलो कारोबार दिन नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा पुगेको छ।
यस दिन कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ३० कम्पनीको मात्र सेयर मूल्य बढ्दा २२० कम्पनीका सेयर मूल्य घटेका छन्। गत वर्ष साउन ३१ मा सेयर बजारले उच्चतम ३०००.८१ बिन्दुमा पुगिसकेको छ भने यसै साउन १३ मा ३००२.०८ को उच्च बिन्दु पुगेको थियो। त्यसयता बजारमा उतारचढाव जारी रहेको छ र ओरालो गति बढी देखिएको छ।
गत वर्ष साउनमा बजारमा आएको उछालपछि लामो समयसम्म बजार धरमर चल्दा बुलिस ट्रेन्ड कमजोर परेको थियो। केही लगानीकर्ताले ‘स्टप लस हन्ट’ जस्ता रणनीतिहरू अपनाएका थिए। हाल बजार पुनः त्यही अवस्थामा रहेको विश्लेषकहरूले बताएका छन्।
लगानीकर्ताहरूले २०७८ भदौ २ गते कायम भएको रेकर्ड ३१९९.०३ बिन्दु पार हुने आशामा लामो समयदेखि पर्खाइ गरिरहेका छन्। तर नयाँ उचाइसम्म पुग्नका लागि बजारलाई अझै धेरै चुनौतीहरू सामना गर्नुपर्ने देखिन्छ।

