काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षकको जागिर खाने अशोककुमार साहलाई विशेष अदालतले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले शुक्रबार साहले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति पाएको ठहर गर्दै फैसला सुनाएको हो।
साहले २०६९ कात्तिकमा राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षकका रूपमा नियुक्ति पाउँदा भारतको कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालयबाट प्राप्त नवीन उत्तरमध्यमाको प्रमाणपत्र पेश गरेका थिए। तर सो विश्वविद्यालयमा उनको नाम दर्ता नै नरहेको प्रमाणित भएको विशेष अदालतले जनाएको छ।

