काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफूले कसैलाई पनि शेयर किन्न वा बेच्न सल्लाह नदिने स्पष्ट पारेको छ।
आइतबार जारी गरिएको सूचनामा नेप्सेले हाल सामाजिक सञ्जालमा नेप्सेको नाममा शेयर बजारसम्बन्धी भ्रामक सामग्री, स्टक टिप्स, शेयर किनबेचका सिफारिस, नक्कली भिडियो–अडियोलगायतका झुठा दाबीहरू देखिन थालेको जनाएको छ। यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पार्ने भएकाले सजग रहन आग्रह गरिएको छ।
नेप्सेले कुनै पनि धितोपत्र खरिद–विक्रीको सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने र खरिद–विक्रीको मूल्य नतोक्ने स्पष्ट गरेको छ। ‘यस्ता सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्,’ नेप्सेले भनेको छ।
नेप्से सम्बन्धी सूचना वा प्रेस नोट नेप्सेको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मात्र प्रकाशित हुने बताइएको छ। नेप्सेको नाम, लोगो वा भवनको तस्बिर प्रयोग गरेर बनाइएका एप, पेज वा समूहमा व्यक्तिगत विवरण नदिन तथा कसैलाई पासवर्ड नदिन पनि आग्रह गरिएको छ।
त्यस्ता अनधिकृत गतिविधि दण्डनीय अपराध हुने भन्दै शंकास्पद सामग्री देखिएमा स्क्रिनसट वा लिंकसहित info@nepalstock.com मा जानकारी दिन नेप्सेले लगानीकर्तालाई अनुरोध गरेको छ।

