काठमाडौं । विभिन्न कम्पनीहरुले धमाधम आइपिओ ल्याउँदै छन् । हालै मात्र स्वस्तिक लघुवित्तले आइपिओ ल्याएको छ । उक्त लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
यस्तै बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको थियो।
अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।
कम्पनीले अब १ लाख ५८ हजार ८२० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बेच्न लागेको हो।
यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ घटीमा १ हजार र बढीमा २० लाख रुपैयाँ लाग्नेछ। यसमा भदौ १५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ तर यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा मात्रै भदौ २५ गतेसम्म निष्कासन अवधि लम्बिनेछ।
यस्तै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ ल्याउने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते अनुमति पाएको थियो।
जसमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ६२ हजार १२५ कित्ता आईपीओ र नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूका लागि ३ लाख ९ हजार ९३८ कित्ता शेयर बिक्री गर्न लागेको हो। उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको आईपीओमा रुपन्देही र पाल्पाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ कम्तीमा १ हजार रुपैयाँ र बढीमा १० लाख रुपैयाँ लाग्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ भदौ १५ गते बन्द हुनेछ तर अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ २५ गतेसम्म लम्बिनेछ। यता उद्योग प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा असोज ९ गतेसम्म लम्बिनेछ।

