काठमाडौं । नेपालका सूचीकृत जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा कुल ५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाइएको ६ अर्ब ३२ करोड रुपैयाँको तुलनामा १२.८६ प्रतिशतले कम हो। बैंकहरूको मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावटले बीमा कम्पनीहरूको लगानी आम्दानी घटाएको र सोही कारण मुनाफामा कमी आएको हो। बीमा कम्पनीहरूले ठूलो परिमाणमा रकम बैंकमा मुद्दती खातामा राख्ने गर्छन्, जसको ब्याज दर पछिल्लो समय निकै कम भएको छ।
तर, नाफा घटेपनि बीमा कम्पनीहरूको बीमा शुल्क संकलन भने उल्लेख्य रूपमा बढेको छ। समीक्षावर्षमा कम्पनीहरूले कुल १ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्, जुन अघिल्लो वर्षको १ खर्ब ३९ अर्ब ६ करोड रुपैयाँको तुलनामा १५.४५ प्रतिशतले बढी हो।
नेपाल लाइफ बीमा कम्पनी सबैभन्दा अगाडि रहँदै ४७ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दै शीर्ष स्थानमा पुगेको छ, जसमा १८.८४ प्रतिशतको वृद्धिदर देखिएको छ। यसबाहेक, पाँच वटा बीमा कम्पनीहरूले १० अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्।
वित्तीय सूचकांकहरू हेर्दा सूचीकृत १२ जीवन बीमा कम्पनीहरूको संयुक्त चुक्ता पुँजी ६७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङ (जगेडा मुनाफा) ११ अर्ब ५ करोड रुपैयाँ रहेको छ, जसमा एलआईसी नेपालको हिस्सा सबैभन्दा बढी छ। बीमा कम्पनीहरूको प्रतिकम्पनी औसत प्रति सेयर आम्दानी (EPS) ८.५४ रुपैयाँ रहेको छ भने, एसियन लाइफको भ्एक् सबैभन्दा उच्च १२.०४ रुपैयाँ छ।
समग्रमा हेर्दा, ब्याजदर घट्दासँगै लगानी आम्दानीमा आएको कमीले नाफामा असर पारेको भएपनि बीमा व्यवसायको मूल सञ्चालन क्षेत्र अर्थात् बीमा शुल्क संकलन भने स्थायित्वतर्फ उन्मुख देखिन्छ।

