काठमाडौं । सरकारले निलम्बनमा राखेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा छानबिनपछि तीन आधारमा बर्खास्त भएका छन्।
सरकारी निर्णय अनुसार, भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमतामा अभाव रहेको र पदीय जिम्मेवारी पूरा नगरेको आधारमा पदमुक्त गर्ने निर्णय गरेको हो।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने, “ओझा अध्यक्षमा नियुक्त भएयता उजुरी परेको थियो। त्यसको छानबिन गर्न समिति गठन गरिएको थियो। छानबिनपछि प्रमाणित भयो कि उनले खराब आचरण देखाएका छन्, कार्यक्षमता अभाव छ र पदीय जिम्मेवारी पालना नगरेको पुष्टि भयो।”
मन्त्री गुरुङका अनुसार, छानबिन समितिको सिफारिसअनुसार र उजुरीका आधारमा ओझालाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गरिएको हो।

