काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका वाचा पुरा नगरेको भन्दै सरकारमाथि आक्रोश पोखेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नागरिकसँग गरेको बाचा पूरा नगर्दा कांग्रेसले आलोचना सहनु परेको उल्लेख गरे।
थापाले सात बुँदे सहमतिको पहिलो प्रावधानमै संविधान संशोधन गरेर राजनीतिक स्थायित्व ल्याउने भनिएको तर त्यसतर्फ सिन्को पनि नभाँचिएको भन्दै असन्तुष्टि जनाए। उनले अब कांग्रेस र एमालेले मात्र छलफल गरेर नहुने भन्दै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई समेत यसमा जोड्नुपर्ने सुझाव दिए।
‘अब दुइटा पार्टीका बीचमा होइन, कम्तिमा पनि प्रमुख प्रतिपक्षीसँग पहिला सहकार्य गर्नुपर्छ,’ थापाले भने, ‘आवश्यक भए संसदमै संयन्त्र बनाएर संविधान संशोधनका साझा विषय पहिल्याउँदै अगाडि बढ्नुपर्छ।’
उनले लोकतन्त्रमा नागरिकसँग गरेको बाचा खुला रूपमा अनदेखा गर्न नमिल्ने भन्दै संविधान संशोधनका एजेन्डा अघि सार्न सरकारलाई आग्रह गरे।

