काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य गिरावटसहित बन्द भएको छ। नेप्से परिसूचक आज ९.२२ अंकले घटेर २,७५७ को विन्दुमा पुगेको छ।
दिनभर ३१९ कम्पनीका १ करोड ६८ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ५३ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ।
सबैभन्दा धेरै शेयर कारोबार हिमालयन रिइन्स्योरेन्समा भएको छ, जसको २४ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ। यसबाहेक नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख र बलेफि हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
लगानीकर्ताहरूको नाफा–नोक्सानमा हेर्दा विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशत नाफा कमाएका छन्। सामुदायिक लघुवित्तले ५.३७ प्रतिशत र मुक्तिनाथ डिबेञ्चरका इकाईधनीले ३.३५ प्रतिशत नाफा कमाएका छन्।
विपरीत, आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.६५ प्रतिशत क्षति भोग्नु परेको छ।

