काठमाडौं । कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशीरहेको कहालीलाग्दो अवस्थामा युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सीकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गरेकी छन् ।
स्वीजरल्याण्डको लेस रोसेस विश्वविद्यालयबाट उद्यमशीलतासहित होटल व्यवस्थापनमा स्नातक र लण्डनबाट रियलस्टेट, फाइनान्स र होटल तथा पर्यटन विकासमा स्नातकोत्तर हासिल गरेकी २४ वर्षीय कुँवरले काठमाडौंको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा १२ करोड लगानी गरेर एस बैंकट सञ्चालनमा ल्याएकी हुन् ।
काठमाडौं महानगरपालिका वडा नं २६ नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालनमा ल्याइएको उक्त बैंकेटको जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

युवा व्यवसायी कुँवरले २३ हजार स्वायर फिटमा तीनवटा बैंकेट हल सञ्चालनमा ल्याएको जानकारी दिइन् । उक्त बैंकट हलभित्र सगरमाथा, माछापुच्छ्रे र धौलागिरी गरी तीन हलहरु रहेका छन् । प्रत्येक हलमा ५०० देखि ७०० जना व्यक्ति अट्ने क्षमता भएको सञ्चालक कुँवरले बताइन् ।
उनले उक्त बैंकट हलमा पचास भन्दा बढी युवालाई रोजगार समेत दिइन् । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरौँ भनेर बैंकट हल सञ्चालनमा ल्याएका हौँ,” उनले भनिन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित र सुन्दर बन्दै गएको बताए । उनले उक्त बसपार्क सञ्चालनका लागि महानगरपालिका कटिवद्ध भएर लागेको उल्लेख गरे ।
कार्यक्रममा नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुँवरले नेपालमा केही गर्न सकिँदैन भन्ने भाष्यलाई चिर्नका लागि युवा व्यवासायी आकृतिले पार्टी प्यालेस सञ्चालन गरेर दर्जनौं युवालाई रोजगारी प्रदान गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायरण अर्याल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, बागतमी प्रदेशका सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

