काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा क्षेत्रमा थुप्रिएको ५,००० किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरेको छ। प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँगको सहकार्यमा सञ्चालन गरिएको यस सफाइ अभियानलाई सगरमाथा प्रदूषण नियन्त्रण समिति ले प्राविधिक साझेदारका रूपमा साथ दिएको थियो।
कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा आयोजित एक विशेष कार्यक्रममा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले संकलित फोहोरसम्बन्धी प्रतिवेदन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरू, तथा रिसाइकलिङ संस्था खालिसीसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल लाइफका प्रमुख कार्यकारी पराजुलीले सगरमाथा जस्तो विश्वकै धरोहरलाई सफा राख्न सबैको दायित्व रहेको उल्लेख गर्दै, यस अभियानमा सहभागी सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे। उनले सगरमाथाको सौन्दर्य र महत्वलाई कायम राख्न नेपाल लाइफले आगामी दिनमा पनि यस्ता अभियानहरूमा सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता जाहेर गरे।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यसपटकको अभियानमा ५ हजार किलो फोहोर संकलन गरिएको जानकारी दिँदै, आगामी चरणमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको बताए। उनले सगरमाथा क्षेत्रमा हरेक वर्ष बढ्दै गएको आरोहणको संख्यासँगै फोहोर बढ्ने चुनौती रहेको उल्लेख गर्दै, साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे।
उक्त अभियानमा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुरिएको र नकुहिने फोहोरलाई ३० किलोका झोलामा बाँधी काठमाडौं ल्याइएको जानकारी दिइयो। काठमाडौं ल्याइएका फोहोरलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गरिने योजना रहेको छ।

