काठमाडौं । विश्वभर रहेका नेपाली हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीज आज श्रद्धा र उल्लासका साथ मनाइँदै छ। हिन्दू पात्रोअनुसार भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेषगरी भगवान् शिवलाई प्रसन्न पार्न व्रत बस्ने र पार्वतीसहित उनको पूजाआराधना गर्ने परम्परा रहेको छ।
धार्मिक शास्त्रअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरी महादेवलाई पति स्वरूप प्राप्त गरेको कथन छ। तर, उनका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गराउन खोजेपछि उनले आफ्ना सखीहरूलाई पीडा सुनाएकी थिइन्। त्यसपछि ती सखीहरूले पार्वतीलाई हरण गरी एकान्त स्थानमा लगेर लुकाए जहाँ पार्वतीले कठोर व्रत गरी महादेवलाई प्राप्त गरिन्। यही दिन भाद्र शुक्ल तृतीय भएकाले उक्त दिनलाई सम्झँदै हरितालिका तीज व्रतको प्रचलन सुरु भएको धार्मिक विश्वास छ।
यद्यपि धर्मशास्त्रले महिलासँगै पुरुषहरूले पनि तीज व्रत गर्न सक्ने बताउँछ, व्यावहारिकरूपमा भने महिलाले आफ्ना पति तथा भावी जीवनसाथीको दीर्घायु, माया र सौभाग्यको कामनासहित तीजको व्रत बस्ने चलन प्रचलित छ।
व्रतालुहरूले आफ्नो क्षमता अनुसार निराहार, जलाहार, फलाहार वा एकछाक भोजन गरी व्रत बस्ने परम्परा छ। अति अशक्त अवस्थामा भने सामान्य भोजन गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता रहेको छ।
तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीया राति ‘दर खाने’ चलन रहिआएको छ। दरमा दाल, भात, तरकारी, दूध, दही, फलफूल, घिउ आदि पौष्टिक परिकार समावेश गरिन्छ। चेलीबेटीलाई माइतीले वा दिदीबहिनी, मावली पक्षले बोलाएर दर खुवाउने चलन छ, जसले भोलिपल्ट व्रत बस्न शक्ति प्रदान गर्छ भन्ने विश्वास छ।
आजको दिन व्रतालुहरूले संकल्पसहित दियो, कलश र गणेशको पूजा गरी बालुकामय उमामहेश्वर (शिव–पार्वती) मूर्तिको पूजाआराधना गर्छन्। व्रतको मूल भावना भनेको नकारात्मक सोच, पाप र कुसंस्कारबाट मुक्ति पाई जन्म–जन्मान्तरसम्म सौभाग्य, ऐश्वर्य र अटल दाम्पत्य प्राप्तिको कामना गर्नु हो।
यस पर्वलाई महिलामैत्री चाडको रूपमा लिइन्छ। महिलाहरू माइत जाने, पुराना साथीभाइसँग भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने, नाचगान तथा भजन–कीर्तन गर्ने गर्छन्। पछिल्ला वर्षहरूमा हिन्दू इतर समुदायका महिलाले पनि तीज मनाउन थालेका छन्।
तीजका दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा विशेष पूजाआजा, भजन–कीर्तन तथा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ।

