काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वार्षिक साधारणसभा (एजीएम) तथा लाभांश वितरणसम्बन्धी कार्यविधि संशोधन गर्दै अब ती संस्थाहरूले निश्चित नियामकीय शर्तहरू पूरा नगरेसम्म एजीएमको लागि वित्तीय विवरण प्रकाशन गर्न अनुमति नपाउने र लाभांश स्वीकृति रोकिने स्पष्ट पारेको छ।
नयाँ कार्यविधिअनुसार, बैंकहरूले ग्रेस अवधिको पुँजीकृत ब्याजलाई आवधिक कर्जामा लेखांकन गरिसकेपछि त्यसलाई अनिवार्य रूपमा नियामकीय जगेडा कोषमा छुट्याउनुपर्नेछ। त्यसैगरी, डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने संस्थाहरूले क्यापिटल रिडेम्सन रिजर्भमा समानुपातिक रकम जम्मा गरेरनगरेको समेत आधार बनाइनेछ।
राष्ट्र बैंकले अब अविमोच्य असञ्चित अग्राधिकार सेयरको लाभांश चालु आर्थिक वर्षको मुनाफाबाट मात्र वितरण गर्न पाउने व्यवस्था गरेको छ। यसमा संचित मुनाफा खाता वा अन्य कोष प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।
त्यस्तै, कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल वित्तीय प्रतिवेदन मानक (NFRS) अनुसार इभेन्ट्स अफ्टर द रिपोर्टिङ पिरियड अन्तर्गत समायोजन विवरण लेखा टिप्पणीमा खुलाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले संस्थापक सेयर लगानी सीमा पनि कडाइ गरेको छ। कुनै पनि संस्थाले चुक्ता पुँजीको १५% सम्म मात्र एक संस्थामा र १% सम्म अन्य संस्थामा मात्र लगानी गर्न पाउनेछ। लघुवित्तका हकमा यो सीमा क्रमशः २५% र १०% तोकिएको छ। सीमा उल्लंघन गरिएका अवस्थामा नगद लाभांश र बोनस सेयर वितरण रोक्का राखिनेछ।
यद्यपि, नेपाल सरकारको ५०% वा बढी स्वामित्व भएका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानजस्ता संस्थाहरूले राष्ट्र बैंकको स्वीकृतिसाथ २५% सम्म संस्थापक सेयर लगानी गर्न सक्ने व्यवस्था यथावत् राखिएको छ।
लाभांश स्वीकृति सम्बन्धी प्रावधान अनुसार, वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूले क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५, पूर्वाधार विकास बैंकहरूले २०१८, तथा अन्य फाइनान्स र लघुवित्तहरूले २००७ को मापदण्ड अनुसार बफर पुँजी कायम गरेपछि मात्र लाभांश घोषणा गर्न पाउनेछन्।
नगद लाभांशको प्रस्ताव गरेपछि बाँकी पुँजी कोषमा राष्ट्रियस्तर बाहेकका विकास बैंक र फाइनान्स कम्पनीहरूले कम्तीमा ६.५% प्राथमिक पुँजी र ११% पुँजीकोष कायम गर्नुपर्नेछ।
राष्ट्र बैंकको भनाइमा, यी सबै नियामकीय शर्तहरू पूरा भएपछि मात्र एजीएमको लागि वित्तीय विवरण प्रकाशन र लाभांश स्वीकृति प्रदान गरिनेछ ।

