काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार ३८.१० अंकले घटेर २,७८१.०० विन्दुमा बन्द भएको छ। परिसूचक १.३५ प्रतिशतले घटेको छ। तर, कारोबार रकम भने बढेको छ। आज ८ अर्ब ९ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ, जुन बुधबारको ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको भन्दा बढी हो। सेयर कित्ता कारोबार पनि बढेको छ; आज एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर कारोबार भएको छ, जबकि बुधबार एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको थियो।
आज नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरीका सेयर सर्वाधिक मूल्यमा कारोबार भएका छन्। नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार ६५ करोड ४४ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३५ करोड ४ लाख रुपैयाँ रहेको छ।
आज २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ। विशेषत: विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१.७० रुपैयाँ पुगेको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको नेप्सेले जनाएको छ।

