वीरगञ्ज। मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि महिला उद्यमशीलता अपरिहार्य रहेको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई आत्मनिर्भर बन्नका लागि थप अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएकी छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘नारी: शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले परिवारको जग बसाल्नेदेखि लिएर उद्योग, व्यवसाय र सामाजिक विकासमा महिलाले पुर्याएको योगदानलाई स्मरण गरिन्। उनले महिलालाई केवल परिवारको सदस्यको रूपमा मात्र नभई समाज र राष्ट्रकै प्रगतिको आधारका रूपमा हेर्नुपर्ने बताइन्। "महिलामा उद्यमशीलताको विकास हुनु व्यक्तिगत सफलता मात्र होइन, यसले सिङ्गो देशको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत गर्छ," उनले भनिन्।
महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि अवसरसँगै सामूहिक एकताको आवश्यकतामाथि पनि उनले जोड दिइन्। हाम्रो समाजमा अझै विद्यमान लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्दै महिलाहरूले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। उनले महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्दै नेतृत्व तहमा पुग्नका लागि सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले महिलाको त्याग र समर्पणलाई संस्थागत सम्मान दिनका लागि पर्याप्त अवसरहरू सिर्जना गरिनुपर्ने आवश्यकता पनि औंल्याइन्। साथै, उनले देशको बढ्दो व्यापार घाटा घटाउन आयात घटाएर स्वदेशी उत्पादनमा जोड दिनुपर्ने सरकारको नीतिमाथि पनि प्रकाश पारिन्।
सम्मेलनकी संयोजक डा. लक्ष्मी थापाले यस्ता कार्यक्रमले महिलाहरूलाई उद्यमशील बन्न उत्प्रेरित गर्ने बताइन् भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले महिलाहरूलाई घरबाटै उद्योग–व्यवसाय सञ्चालन गर्ने अवसर दिनुपर्नेमा जोड दिए।

