काठमाडौं । विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडी (BYD) ले पछिल्लो त्रैमासिकमा नाफा घटाएको छ। करिब तीन वर्षपछि पहिलोपटक कम्पनीको नाफा घट्नु भनेको विद्युतीय सवारी बजारमा देखिएको मूल्ययुद्ध, सरकारी हस्तक्षेप र उत्पादन विस्तारमा ढिलाइका कारण भएको विश्लेषण गरिएको छ।
चिनियाँ यो अटो जायन्टले अप्रिल–जुन (दोस्रो त्रैमासिक) मा ६.४ अर्ब युआन (करिब ८९४ मिलियन अमेरिकी डलर) शुद्ध नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा २९.९ प्रतिशतले घटेको हो। सोही अवधिमा आम्दानी भने १४ प्रतिशतले बढेर २००.९ अर्ब युआन पुगेको कम्पनीले जनाएको छ।
टेस्लाको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने बीवाईडीले यस वर्ष विश्वभर ५५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ। तर, पहिलो सात महिनामा जम्मा २४ लाख ९० हजार कार बिक्री भएको छ, जुन कुल लक्ष्यको ४५ प्रतिशत मात्र हो। यसले कम्पनीको महत्त्वाकांक्षी योजना पूरा गर्ने सम्भावनामा प्रश्न उठाएको छ।
चीन सरकारद्वारा मूल्ययुद्ध अन्त्य गर्ने निर्देशनपछि बीवाईडीलगायत अटो कम्पनीहरूको नाफा–मार्जिनमा दबाब परेको बताएका छन्। त्यससँगै, बिक्री लगातार तेस्रो महिनासम्म घटेको छ भने १७ महिनापछि पहिलोपटक उत्पादन पनि घटेको तथ्याङ्क सार्वजनिक भएको छ। चीनमै करिब ८० प्रतिशत आम्दानी गर्ने बीवाईडीले आफ्ना केही उत्पादन विस्तार योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कम्पनीको वर्किङ क्यापिटल घाटा पनि बढ्दै गएको छ। चालु सम्पत्ति र चालु दायित्वबीचको अन्तर ३० जुनसम्ममा १२२.७ अर्ब युआन पुगेको छ, जुन मार्चमा ९५.८ अर्ब थियो। यसले कम्पनीको वित्तीय व्यवस्थापनमा थप चुनौती देखाएको छ।
बीवाईडीको स्थापना १९९५ मा चीनको शेनझेन सहरमा वाङ चुआनफु ले गरेका थिए। सुरुवाती चरणमा ब्याट्री र मोबाइल उत्पादनमा सफल भएपछिमात्र कम्पनीले अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको थियो। २००८ पछि विद्युतीय सवारी बजारमा उदय भएको बीवाईडीले २०२२ मा पेट्रोल–डिजेल कार उत्पादन पूर्ण रूपमा बन्द गरी केवल ईभी र हाइब्रिड उत्पादनमा केन्द्रित भएको थियो।

