काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सार्वजनिक गरेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा मागभन्दा १.४८ गुणा बढी आवेदन परेको छ।
साउन २९ गतेदेखि भदौ १२ गतेसम्म निष्काशनमा ल्याइएको १० रुपैयाँ अंकित दरका ५ करोड इकाईका लागि ८२,८२८ जना आवेदकले कुल ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन्।
क्यापिटलका अनुसार, यो योजनाको अधिकतम आकार बीजपूँजीसहित १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँसम्म हुने व्यवस्था छ। नियमावलीअनुसार मागभन्दा बढी आवेदन भए पनि योग्य आवेदकलाई माग बमोजिम इकाई बाँडफाँड गरिनेछ।
क्यापिटलले सबै लगानीकर्ता, निष्काशन प्रक्रियामा सहयोग गर्ने बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड र अन्य सम्बद्ध निकायप्रति धन्यवाद व्यक्त गरेको छ।

