काठमाडौं । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हुने सहमति बनेको छ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा भएको छलफलपछि नायब सुब्बा पदमा अब बढुवा मात्र नभई खुला प्रतिस्पर्धाबाट पनि पदपूर्ति गर्ने बाटो खुलेको हो। यसअघि प्रतिनिधिसभाले नासु पदमा शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान पारित गरेको थियो।
यससँगै प्रतिनिधिसभाले गरेको व्यवस्था उल्टिएको छ। समितिले यसअघि सहसचिव पदका लागि पनि १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाइसकेको थियो। प्रतिनिधिसभाले सहसचिवमा पनि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान पारित गरेको भए पनि राष्ट्रियसभाको समितिले त्यसलाई परिवर्तन गरेको थियो। विधेयक माथिको दफावार छलफल जारी छ भने अन्तिम निर्णय संसदको संयुक्त प्रक्रियाबाट हुनेछ।

