काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उक्लिँदै २७६१.८६ विन्दुमा पुगेको छ । अघिल्लो दिन आइतबार ३१.१७ अंकले घटेको परिसूचक सोमबार १२.०३ अंकले बढ्दै बजारमा सकारात्मकता देखिएको हो ।
तर, परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब बराबरको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । यसदिन ३२६ स्क्रिप्सको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।
सोमबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०६ कम्पनीको घट्यो भने दुई कम्पनीको स्थिर रह्यो । तर, कुनै पनि कम्पनीले सकारात्मक सर्किट लेभल छुन सकेन ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको २८ करोडभन्दा बढीको सेयर कारोबार भयो । दोस्रो स्थानमा एभरेष्ट बैंक (२४ करोड), तेस्रोमा हिमालयन डिस्टिलरी (२१ करोड), चौथोमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट (२० करोड) र पाँचौँमा कुमारी बैंक (१७ करोड) परेका छन् ।
समूहगत उपसूचक हेर्दा बैंकिङ समूह सबैभन्दा बढी १.५० प्रतिशतले बढेको छ भने दुई स्टक्स बाहेक अन्य समूहहरू सकारात्मक देखिएका छन् ।

