काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरूका लागि विदेशी मुद्रा सटही सिफारिससम्बन्धी निर्देशन, २०८२ जारी गरेको छ। बीमा ऐन, २०७९ को दफा १६६ बमोजिमको अधिकार प्रयोग गर्दै प्राधिकरणले पुनर्बीमा, रेट्रोसेसन, परामर्श सेवाबापतको भुक्तानी लगायतका विदेशी मुद्रा सटही प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन यो निर्देशन ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार बीमकहरूले विदेशी बीमक, पुनर्बीमक, विदेशी लगानीकर्ता वा सेवाप्रदायक संस्थालाई भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिनुपर्नेछ। पुनर्बीमा शुल्क, बीमा दाबी रकम, लाभांश फिर्ता तथा परामर्श सेवाबापतको रकम भुक्तानी गर्दा सम्बन्धित डेबिट नोट वा बीजकमा आधारित भएर मात्र सिफारिस उपलब्ध हुनेछ।
सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क वा पुनर्बीमा कमिसन कटाएर बाँकी खुद रकम मात्र राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकमार्फत विप्रेषण गर्नुपर्नेछ। निवेदनमा बीमकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को हस्ताक्षर अनिवार्य गरिएको छ भने सबै कागजातमा बीमक वा पुनर्बीमकको छापसहित सम्बन्धित कर्मचारीको हस्ताक्षर हुनुपर्नेछ।
प्राधिकरणबाट सिफारिस प्राप्त भएपछि वाणिज्य बैंकमार्फत १५ दिनभित्र र नेपाल राष्ट्र बैंकमार्फत ३० दिनभित्र भुक्तानी गरी सो विवरण तीन दिनभित्र प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ। भारतका लागि भुक्तानी भारतीय मुद्रामा गर्नुपर्नेछ भने अन्य मुलुकका लागि स्थानीय मुद्रा वा अमेरिकी डलरमा मात्र सिफारिस माग गर्न पाइनेछ।
निर्देशनले विदेशी बीमक वा ब्रोकरलाई दाबीबापतको भुक्तानी गर्दा अनिवार्य रूपमा ट्रिट्री वा फ्याकल्टेटिभ हिसाबकिताब मिलान गरी आवश्यक कागजात संलग्न गर्नुपर्ने प्रावधान राखेको छ। साथै, पुनर्बीमा वा रेट्रोसेसनबापत विदेशी मुद्रा सटही सिफारिस गर्दा सूचीकरणमा रहेका पुनर्बीमक वा पर्याप्त रेटिङ पाएका पुनर्बीमकलाई मात्र सिफारिस दिने व्यवस्था गरिएको छ।
तर, बीमकको पुनर्बीमा निर्देशिका लागू हुनुभन्दा पहिले भएका सम्झौताअनुरूपको भुक्तानीका लागि भने यो व्यवस्था बाधक नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

