काठमाडौं । नापी कार्यालय कलंकीका करारमा कार्यरत कार्यालय सहयोगी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ। कलंकीस्थित ३ नम्बर नापी टोली, पुरानो नैकापमा कार्यरत सहयोगी एकेन्द्रबहादुर कुँवर सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो।
चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाउनका लागि कुँवरले घुस मागेको उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
अनुसन्धानबाट कुँवरले जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागी लिएको प्रमाणित भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले कुँवरविरुद्ध कैद सजाय र १३ हजार रुपैयाँ बराबरको जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

