काठमाडौं । सुदेश खालिङ राई एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको २२ भदौमा बसेको बैठकले आगामी असोज ८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि खालिङलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
चार वर्षअघि एभरेष्ट बैंकले पहिलो पटक नेपाली बैंकरलाई सीईओमा नियुक्त गर्दै खालिङलाई नेतृत्व दिएको थियो। उनको पहिलो कार्यकाल असोजमा समाप्त हुँदै थियो।
भारतको पञ्जाब नेसनल बैंकका प्रतिनिधिले नेतृत्व गर्दै आएको बैंकलाई खालिङले निरन्तर प्रगति दिलाएको मानिन्छ। अन्य बैंकहरू सम्पत्तिको गुणस्तर बिग्रँदा समस्यामा परेका बेला एभरेष्ट बैंक भने स्थिर रहेको छ।
यसअघि खालिङ लक्ष्मी बैंकमा समेत दुई कार्यकाल सीईओको रूपमा कार्यसम्पादन गरिसकेका छन्।

