काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको हो ।
बैठकले चुक्तापूँजीको १० प्रतिशत बराबर बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको छ । यसका साथै सोही बैठकले ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय समेत गरेको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकलाई तोकेको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन दिएको छ । तर कम्पनीको हाल कायम रहेको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ मात्र छ ।१० प्रतिशत लाभांशपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ७२ करोड रुपैयाँ पुग्ने छ । त्यसपछि कम्पनीले सात प्रतिशत हकप्रद निष्कासन गरेर चुक्तापूँजी ५ अर्ब पुर्याउने योजना बनाएको छ ।
सो आधारमा १७ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको हकप्रद शेयर जारी गर्न कम्पनीको २०८० पुस २९ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजातसहित १७ प्रतिशत हकप्रद शेयर निष्कासनको लागि निवेदन पेश गरिएकोमा नेपाल धितोपत्र बोर्डबाट हालसम्म स्वीकृती प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले बताएको छ ।
हकप्रद र लाभांशको प्रस्ताव नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतीको लागि लेखि पठाउने र प्राधिकरणबाट स्वीकृती प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने पनि कम्पनीले बताएको छ ।

