काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न स्थानमा सञ्चालित ५ वटा रेमिट्यान्स कम्पनीको लाइसेन्स नै खारेजीको तयारी थालेको छ । बैंकले एक सूचना जारी गर्दै उक्त कम्पनीको लाइसेन्स स्वत खारेजी गर्ने तयारी भएको जनाएको हो ।
सूचना अनुसार लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र अनामनगरस्थित माक्स मनि ट्रान्सफर प्रालि खारेजीको चरणमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०० को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो कारोबार सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत बैंकले सूचना जारी गरेको छ ।

