२०८३, आश्विन २० गते

images

जल्दै गरेको आफ्नो घरको भिडियो सेयर गर्दै गभर्नर डा.विश्व पौडेल भन्छन्– शरणार्थी भयौं

जल्दै गरेको आफ्नो घरको भिडियो सेयर गर्दै गभर्नर डा.विश्व पौडेल भन्छन्– शरणार्थी भयौं

बिहिवार, भाद्र २६ २०८२१२:२१
बिहिवार, भाद्र २६ २०८२१२:२१
  • images

    काठमाडौं । यो चाहिँ मेरो भैसेपाटिको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी ९ वर्षकी छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यही बस्थ्यौँ । गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो ।

    भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए । देवी-देवताका मुर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जङ्गबहादुरको गर्लफ्रेण्ड लौरा बेलको जीवनी पनि त्यही थियो । छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो । 

    अस्ति यो घर जल्नु दुई घन्टा अघि नै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लत्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए ।

    राती मेरी  छोरी  र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथीहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैं चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिनँ । त्यो दिन हामी सबै ‘शरणार्थी’ भयौँ।किताब र कपडाहरू धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुंगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए ।

    धेरै सारथिहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु । अब यस बारेमा अरु छलफल के नै गर्नुपर्ला र । 

    नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन् छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend